कञ्चनपुर /पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कृष्णपुर नगरपालिका–६ सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा बनेको उक्त भवनमा नगरपालिकाबाट तीन लाख रुपैयाँ र वनबाट सात लाखभन्दा बढी खर्च भएको छ।
सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीका अनुसार, पाँचवटा कोठा रहने गरी स्थानीय शैलीमा भवन तयार हुँदैछ। प्रत्येक कोठामा दुई शय्या र आवश्यक सुविधा रहनेछन्। करिब दुई महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ।
भवन सञ्चालनमा आएपछि वन अवलोकनका लागि आउने पर्यटकलाई न्यून शुल्कमा बस्ने सुविधा दिइनेछ। साथै, पाहुनाको रोजाइअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकार, सांस्कृतिक कार्यक्रम र परम्परागत नृत्य प्रस्तुत गरिने योजना छ।
पर्यटकका लागि भ्यू टावर, पिकनिक स्थल, सालको पुनः उत्पादन क्षेत्र, पोखरीमा डुङ्गा सयरलगायत आकर्षण उपलब्ध हुनेछन्। यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास अध्यक्ष चौधरीले व्यक्त गरे।
यससँगै सिंहपुरको पुरानो थारु बस्तीमा १० घरमा होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको छ। चालु आर्थिक वर्षमै दर्ता गरेर औपचारिक रूपमा सेवा सुरु गर्ने लक्ष्य लिइएको छ।
वडा नं. ६ का अध्यक्ष बाबुराम चौधरीका अनुसार, पाहुना घर छिट्टै सम्पन्न भई सञ्चालनमा ल्याइनेछ र वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गरिनेछ।











