सिलगढी– मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ।
देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने मधेस प्रदेशसँगै कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा मुसलधारे वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने संभावना छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने अन्य भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षा पर्न सक्नेछ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थान र गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला–साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायातमा अवरोध हुन सक्ने चेतावनी दिएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा बस्ने सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरिएको छ।











