कैलाली /कैलालीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान टीकापुर बसपार्कबाट लम्की जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१–ख ३५८३ नम्बरको बसले साइकल र मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा टीकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अट्वारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकीले जानकारी दिए।
यसै दुर्घटनामा टीकापुर–६ का २५ वर्षीय राजु चौधरी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
बस चालक कैलालीको गोदावरी नगरपालिका–८ का हरिकेशी लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ।











