बैतडी /बैतडीमा लगातारको वर्षाले ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन्। विशेषगरी कच्ची सडकहरू हिलाम्मे र पहिरोका कारण यात्रा गर्न जोखिमपूर्ण बनेका छन्।
सतबाँझ–सुर्नया सडकखण्डमा स्तरोन्नतिको काम भइरहेकाले चौडाइ बढाउने क्रममा वर्षातमा पहिरो खस्ने समस्या बढेको छ। त्यस्तै, पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडकखण्डमा पनि यस्तै अवस्था छ।
सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने सडक, देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वरलगायत मार्गमा वर्षातमा जोखिम मोलेर मात्र सवारी सञ्चालन गर्नुपर्ने अवस्था छ। पाटन–सकार–कैलपाल, धर्मघर–सनशेरीमाडौँ, देहीमाडौँ–दुर्गाभवानी, देहीमाडौँ–सुरकाल सडक पनि वर्षाको कारण बन्द भएका छन्।
स्थानीय चालकहरूका अनुसार कच्ची सडकमा पानी परेपछि गाडी हिलोमा फस्ने, पहिरो खस्ने र बाटो भत्किने समस्या हरेक वर्ष दोहोरिन्छ। सडक अवरुद्ध हुँदा यात्रीहरू महँगो भाडा तिर्न बाध्य हुने र दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या पर्ने भएको दोगडाकेदार–१ का हरिस साउँदले बताए।











