डोटी जिल्लाका सात स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण कार्य अझै लथालिङ्ग अबस्थामा छ ।
२०७७ मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहमा एकैपटक आधारभूत अस्पताल भवन शिलान्यास गरिएको थियो। सो अवसरमा डोटीका सातवटै स्थानीय तहमा पनि अस्पताल निर्माणको घोषणा भएको थियो। तर, पूर्वीचौकी गाउँपालिकाबाहेक अरू कतै भवन निर्माण पूरा हुन सकेको छैन।
तर पूर्वीचौकीमा भवन तयार भए पनि दक्ष जनशक्ति र बजेट अभावका कारण अस्पताल सञ्चालनमा आउन सकेको छैन।
अन्य गाउँपालिकामा भने निर्माण कार्य निकै सुस्त गतिमा भइरहेको छ।
पालिका अन्तर्गत अस्पताल निर्माण कार्यकाे अबस्था के छ ?
बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा बन्ने १५ शय्याको अस्पताल २०७९ असारमै सकिनुपर्ने भए पनि हालसम्म मात्र १५.६३% काम भएको छ।
जोरायल गाउँपालिकामा १५ शय्याको अस्पतालको ११% मात्र काम भएको छ।
केआइसिंह गाउँपालिकामा १० शय्याको अस्पतालको २१% मात्र निर्माण भएको छ।
बडिकेदार गाउँपालिकामा १० शय्याको अस्पताल ३५% मात्रै निर्माण सम्पन्न भएको छ।
सायल गाउँपालिकामा भने अहिले पिल्लर राख्ने काम मात्र भएको छ।
स्थानीय तहका अध्यक्षहरूले निर्माण व्यवसायीको ढिलासुस्ती र सरकारी संयन्त्रको कमजोरीका कारण अस्पताल निर्माण कार्य अघि नबढेको बताएका छन्।











