बाजुरा, – बडीमालिका मन्दिर दर्शनपछि नाटेश्वरी फर्किंदै गरेका एक तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (प्रनाउ) इकवाल हवारीका अनुसार मृतक गोकर्णेश्वर नगरपालिका–५, काठमाडौंका ५२ वर्षीय विप्लव ओझा रहेका छन्।
प्रनाउ हवारीका अनुसार ओझा बिहीबार साँझ करिब ७ बजे विस्नेपानी नजिकैको भीरबाट लडेर खोल्सामा खसेका थिए। लगातार वर्षाका कारण खोल्सामा अड्किएको शव रातिसम्म निकाल्न नसकिएको र उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
शव निकाल्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको थियो, तर मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ।











