सिलगढी – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदै आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालका तराई क्षेत्र नजिकै अवस्थित छ, जसको कारण वर्षा प्रणाली देशभर फैलिएको छ।
विभागका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक-दुई स्थानमा पनि वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने देखिएको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागको भनाइ छ।
यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देखिएको छ।
मौसम विभागले मनसुन अझै केही दिन सक्रिय रहने भएकाले विशेषगरी मधेश प्रदेशसहित देशभरका नागरिक तथा सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्लो मौसमी अपडेटबारे जानकारी लिन आग्रह गरेको छ।











