कञ्चनपुर —शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ। अन्दाजी ७० वर्षीय गणेश कुँवर शुक्रबार साँझ नदी तर्दै गर्दा बगेर हराएका थिए।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार, कुँवरको शव आइतबार स्याली र सनवोरा नदीको दोभानमा, हराएको स्थानदेखि झण्डै दुई किलोमिटर दक्षिणतर्फ फेला परेको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत तारापुर क्षेत्रको शिविरमा बसोबास गर्दै आएका कुँवरको खोजीका लागि प्रहरी, स्थानीयवासी र निकुञ्ज कर्मचारीहरूले तीन दिनसम्म खोजतलास गरेका थिए।
उनीकाे शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।











