कञ्चनपुर, लालझाँडी गाउँपालिका —लालझाँडी गाउँपालिका–२ मा रहेको भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानालाई अल्पदृष्टि छ। कक्षा कोठामा उनले अगाडि बोर्डमा लेखिएको राम्रोसँग देख्न सक्दिनन्। यस्ता समस्याहरू अघिल्लो समयमा शिक्षक वा विद्यालय व्यवस्थापनले चाँडै थाहा पाउँदैनथे।
तर, गाउँपालिकाले भानु माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा छनौट गरी समावेशी शिक्षण पद्धति लागू गरेपछि मात्र आस्मीजस्ता विद्यार्थीको अवस्था पहिचान हुन थालेको हो।
विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायकाअनुसार, “पहिले हामीले न त कम देख्ने वा सुन्ने विद्यार्थीको समस्या चिनेका थियौं, न त विद्यार्थीले आफैं गुनासो गर्थे। अहिले भने, समावेशी शिक्षण पद्धतिले त्यस्ता समस्या पहिचान गर्न सहज भएको छ।”
उनका अनुसार विद्यालयमा अहिले फरक क्षमता भएका विद्यार्थीहरूलाई पनि अन्य विद्यार्थीहरूसँगै एउटै कक्षा कोठामा राखेर पढाउने गरिन्छ। यसले सबैको सिकाइमा सकारात्मक प्रभाव परेको छ।
यसैगरी, बेलडाँडी–४ मा रहेको सरस्वती जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र बुढा भन्छन्, “नमूना विद्यालय छनौट भएपछि वडाबाट प्राप्त हुने बजेटको ५० प्रतिशत विद्यालय विकासमा लगाइएको छ।” उनले विदाका समयमा अतिरिक्त कक्षा सञ्चालन र त्रैमासिक रूपमा अभिभावक अन्तरक्रिया पनि गरिँदै आएको जानकारी दिए।
उनका अनुसार विद्यालयमा अहिले २४ जना फरक क्षमता भएका विद्यार्थी अध्ययनरत छन्। उनीहरूलाई पनि समावेशी ढंगले एउटै कक्षा कोठामा पढाइने गरिएको छ। यद्यपि पर्याप्त जनशक्ति र प्रविधिमैत्री कक्षाकोठाको अभावले केही चुनौती भने रहेको उनले बताए।
लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार, गाउँपालिकाले नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा तीन वटा विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्दैछ। “समावेशी शिक्षामार्फत अपाङ्गता भएका विद्यार्थीलाई पनि शिक्षाको पहुँचमा ल्याउन हामी प्रतिबद्ध छौं,” उनले भने।
पालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै तीनवटा स्मार्ट बोर्डसमेत उपलब्ध गराएको छ।
हाल लालझाँडी गाउँपालिकाका भानु माध्यमिक विद्यालय, जनचेतना माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय तथा बेलडाँडी गाउँपालिकाका सरस्वती जनता, रौलेश्वर र सरस्वती माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गरिँदैछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका ६ पालिकामा सञ्चालन भइरहेको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत यी विद्यालयहरू छनौट गरिएका हुन्। विद्यालयहरूमा कार्यगत सीमितता भएका बालबालिकाको पहिचान गरी कक्षाकोठा र शिक्षण विधि तिनकाे आवश्यकताअनुसार समायोजन गरिँदैछ।











