कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका पाटे बाघहरूको प्रभावकारी संरक्षण र पहिचानको उद्देश्यले भाले तथा पोथी बाघलाई नाम दिइने प्रक्रिया सुरु गरिएको छ।
बाघको बासस्थान, हिँडडुल गर्ने क्षेत्र, शरीरमा देखिने धाराहरू (पाटा), शारीरिक बनावट र स्वभावका आधारमा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को सहकार्यमा नामकरण गरिएको हो।
शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीका अनुसार, “बाघको नामकरणले प्रत्येक बाघलाई छुट्टाछुट्टै चिन्ने सुविधा दिन्छ, जसले गर्दा उद्धार तथा संरक्षण सजिलो हुन्छ।”
उनका अनुसार, निकुञ्जको पुस्तकालयमा क्यामेरा ट्र्यापिङ प्रविधिबाट खिचिएका ४० वटा बाघका तस्बिरहरू संग्रह गरिएका छन्। यसले कुन बाघ कुन क्षेत्रमा बसोबास गर्छ भन्ने बुझ्न सहयोग गर्ने उनले बताए।
जोशीका अनुसार, “नामकरणले निगरानी, गतिविधि ट्र्याकिङ, स्वास्थ्यमूलक अध्ययन, बसोबास क्षेत्र विश्लेषण तथा सम्भावित स्थानान्तरण वा उद्धार जस्ता कार्यमा थप सहजता ल्याउँछ। बाघको प्रजनन, आनीबानी, आहारसम्बन्धी अध्ययन र चोरी–सिकारी न्यूनीकरणमा समेत यसले टेवा पुर्याउँछ।”
नामकरण भएका बाघहरू
नाम दिइएका भाले बाघमध्ये लौरीपाटे, मधुरमाले, कालिकिचे, घुमन्ते, राजकुमार, चुरे किङ, महाकाल, शक्तिमान, क्याप्टेन, त्रिनेत्र, दशगजा, अर्जुनी किङ, अङ्कुशे, गणेश, सिकारी, सिद्धबाबा, महाराजा लगायत छन्।
त्यस्तै, पोथी बाघहरूमा तारा ताल, त्रिशूलधारी, बाटुली लामपुच्छ«े, मङ्गलेश्वरी, त्रिनेत्री, बर्कौला, शान्ति, करैया, गाजलु, चौधर, राजकुमारी, बालुवा ताल, पञ्जिका लगायतको नामकरण गरिएको छ ।
निकुञ्जमा एक वर्षको अवधिमा पाटे बाघको संख्या ३६ बाट ४३ पुगेको छ। हाल २१ वटा भाले र १९ वटा पोथी बाघ रहेका छन्।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार, बाघको आहारा प्रजातिहरूको पर्याप्तता, बासस्थानको सुधार र चोरी–सिकारी नियन्त्रण भएकोले बाघको संख्या वृद्धि भएको हो। उनका अनुसार एक वयस्क बाघलाई करिब ६५ वर्ग किलोमिटर क्षेत्र आवश्यक पर्छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालका संरक्षण क्षेत्रमध्ये सानो क्षेत्रफलमा धेरै बाघ बसोबास गर्ने क्षेत्रका रूपमा ख्यातिप्राप्त छ।
सन् १९७४ देखि स्थापना भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९९९ यता हरेक वर्ष नियमित बाघ गणना हुँदै आएको छ।
कुल ३०५ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज पाटे बाघसँगै बाह्रसिङ्गाको प्रमुख बासस्थान पनि हो। ५२ प्रतिशत भाग सालको घना वनले ढाकिएको छ भने १९ प्रतिशत घाँसमैदानले ओगटेको छ।
यस निकुञ्जमा जङ्गली हात्ती, एकसिङ्गे गैँडा, बाह्रसिङ्गा, हिस्पिड खरायो, सुनगोहोरो, कृष्णसार, अजिङ्गर तथा करिब ४६४ प्रजातिका चरा पाइन्छन्। स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न निकुञ्ज वरिपरि २४३.५ वर्ग किलोमिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ।











