सिलगढी/ आज साउन १५ गते, देशभर विभिन्न स्थानमा खीर पकाएर खाने चलन चलिरहेको छ। वर्षा ऋतुको मध्यमा पर्ने यस दिनलाई नेपाली समाजमा विशेष सांस्कृतिक परम्पराको रूपमा लिइन्छ।
असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने प्रथा नेपाली समाजमा प्राचीनकालदेखि नै प्रचलनमा रहँदै आएको छ। जानकारहरूका अनुसार, साउने झरी परिरहने बेला शरीरलाई पोषण दिने खीर स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। दूधमा मरमसला, चिनी, चामल लगायत सामग्री मिसाएर पकाइने खीरलाई संस्कृतमा ‘पायस’ भनिन्छ। वैदिक परम्परामा पायस सात्विक आहारका रूपमा मानिने भएकाले पितृ तथा देव कार्यमा यसको विशेष महत्त्व रहेको उल्लेख गरिएको छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, “साउन महिनामा खेतिपातीका कामहरू घट्छन्, गाईभैँसीहरूलाई प्रशस्त घाँस उपलब्ध हुन्छ र त्यसबाट दूध उत्पादन पनि बढ्छ। यही दूधको उपयोग गर्दै आफन्त र चेलिबेटीलाई बोलाएर खीर पकाएर खुवाउने परम्परा बसेको हो। यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ।”
उनका अनुसार साउन महिनालाई शिवको महिना मानिन्छ। भगवान् शिवलाई दूध र दुग्धजन्य परिकार मनपर्ने मान्यताले पनि खीर पकाउने चलनसँग धार्मिक पक्ष जोडिएको हुनसक्ने उल्लेख गरे। यद्यपि, यसबारे स्पष्ट शास्त्रीय वचन भने नभएको उनले बताए।
ऋषिमुनिको पालादेखि श्राद्ध लगायतका पितृकर्ममा निमन्त्रित व्यक्तिहरूलाई पायस खुवाउने परम्परा रहँदै आएको छ। वैदिक सनातन धर्ममा गाईको दूधबाट बनेको खीर विशेष महत्व राख्छ। चामल, सेवई, गाजर, मकै, सावधाना (साबुदाना) आदि सामग्री प्रयोग गरेर विभिन्न प्रकारका खीर बनाइन्छ। यसमध्ये मकै र सावधानालाई फलफूलकै वर्गमा राखिने चलन छ। विशेष गरी साउन महिनामा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि लोकप्रिय बन्दै गएको छ।
नेपाली बृहत् शब्दकोशले खीरलाई “दूधमा पकाइएको चामल, चिनी, मसला आदि मिसाएर बनाइने स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरेको छ। नेपाली समाजमा हरेक महिनाको १५ गते विशेष परिकार बनाएर इष्टमित्र, छोरीचेलीलाई निमन्त्रणा गरी खुवाउने परम्परा पाइन्छ।
असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १५ मा मालपुवा जस्ता मौसमी परिकारहरू बनाइन्छन्। यसै परम्पराको सम्मानमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’का रूपमा मनाउने गरेको छ।











