कैलाली— कैलालीको जोशीपुर गाउँपालिका–१ लक्कडमण्डीमा आइतवार राति भएको आगलागीमा एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
राति साढे १२ बजे धन बहादुर बोहराको घरनजिक रहेको गाईगोठमा मच्छर भगाउन बालेको आगोबाट एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ। आगो गोठमा सल्किएपछि गोरू, बस्तु र अन्य सामग्री जलेर नष्ट भएका छन्।
४८ वर्षीय बोहराको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ। आगलागीका कारण गोठभित्र रहेका दुईमध्ये एक बोका जलेर मृत भएको छ भने अर्को बोका र गाई घाइते भएका छन्।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि ठूलो मात्रामा क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।











