सिलगढी— डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका २ र सायल गाउँपालिकाका विभिन्न क्षेत्रमा पाँच दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले एक सूचना जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्म डबल सर्किट ११ के.भी. फिडर निर्माण कार्यका कारण विद्युत् आपूर्ति बन्द रहने जनाएको छ।
प्राधिकरणका अनुसार मौवा सबस्टेशनदेखि सायल बजारसम्मको क्षेत्रमा निर्माण हुने सो फिडरका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द रहनेछ।
विद्युत् सेवा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म बन्द हुने जानकारी दिइएको छ।
निर्माण कार्यको अवधिमा विद्युत् संरचना नछुन, आवश्यक सावधानी अपनाउन र जोखिमबाट जोगिन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ।











