कञ्चनपुर, साउन ११ – कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार चेकप्वाइन्टबाट खैरो हेरोइनसहित डोटीका एक युवक पक्राउ परेका छन्।
भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी २२ वर्षीय राजकुमार बादीलाई पक्राउ गरेको हो। प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाइएको छ।
बादीलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई लागुऔषध मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार हुने गतिविधि रोक्न नियमित निगरानी र कडा चेकजाँच जारी राखिएको छ।











