सिलगढी– सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा खडेरीको असर देखिन थालेको छ। पर्याप्त वर्षा नहुँदा बोरिङबाट पानी तानेर गरिएको रोपाइँपछि खेतमा चिरा पर्न थालेका छन् भने धान सुक्न थालेको किसानहरूले बताएका छन्।
कैलालीका किसान हरिलाल चौधरीले पछिल्लो दुई हप्तादेखिको सुक्खा मौसमले प्रमुख खाद्यान्न धान बाली जोखिममा परेको चिन्ता व्यक्त गरेका छन्। “बोरिङ पम्पिङसेटबाट पानी तानेर असारको पहिलो साता नै रोपाइँ गर्यौं,” उनले भने, “तर आवश्यक वर्षा नभएकाले खेत सुक्दै छ, धान पहेँलो हुँदै जान थालेको छ।”
मनसुन सरदर मिति भन्दा करिब १५ दिन अगाडि भित्रिए पनि अझैसम्म प्रदेशका अधिकांश स्थानमा मनसुन प्रणाली पूर्ण रूपमा सक्रिय हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार, “असार १६ गते धनगढीमा २१२.२ मिलिमिटर वर्षा मापन भए पनि त्यसयता उल्लेखनीय वर्षा भएको छैन।”
उनले जलवायु परिवर्तनका कारण मनसुन कमजोर बन्दै गएको र वर्षा चक्र अनियमित भएको बताए। कृषि प्राविधिकहरूका अनुसार, यस्तो अवस्थामा खेतमा झारपात, किराफट्याङ, र बाली रोगको समस्या देखिन सक्छ।
खडेरीसँगै पछिल्ला दिनमा बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरसहितका जिल्लामा जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीका कारण कामकाज गर्न, बाहिर हिँडडुल गर्न कठिन भएको स्थानीयवासीहरूको गुनासो छ।
स्थानीय यज्ञराज भट्ट भन्छन्, “छटपटिने गर्मीले रातको समयमा समेत अनिदो बस्नुपरेको छ, थकाइ मिटाउन दिनमा पटक–पटक नुहाउनु परेको छ।” वृद्धवृद्धा, मजदुरीमा निर्भर वर्ग र स्कुले बालबालिकालाई यो गर्मीले विशेष असर पारेको छ।
महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख साहले अधिकतम तापक्रम त्यति नबढे पनि सापेक्षिक आद्रता र न्यूनतम तापक्रमका कारण अधिक गर्मीको महसुस भइरहेको बताएका छन्।
वर्षा आवश्यक समयमा नपर्नु, बेमौसममा बाढी–पहिरो, चक्रवात र आँधीबेहरी जस्ता समस्याहरू जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीका रूपमा देखा परिरहेका छन्। विज्ञहरूका अनुसार, जलवायुमा आएको यस्ता परिवर्तनले देशको कृषिमा गम्भीर असर पार्न सक्छ।











