सिलगढी – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले मौसममा सामान्य प्रभाव देखिएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ। बागमती, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले देशभर मनसुनी प्रभाव कमजोर भएकाले दिउँसोको समयमा तापक्रम यथावत् रहने पनि जनाएको छ।











