डोटी,– सुदूरपश्चिम प्रदेशका नौ जिल्लालाई जोड्ने एकमात्र भिमदत्त राजमार्गको अवस्था अहिले अत्यन्तै दयनीय बनेको छ। सडक मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम अलपत्र परेपछि करिब २० किलोमिटरको यात्रा जोखिमपूर्ण र सास्तिपूर्ण बनेको छ।
डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा सडक खनेर छाडिएको छ। बर्खाको समयमा खाल्डाखुल्डी र हिलाम्मे सडकले सवारी सञ्चालन कठिन बनेको छ। यात्रुहरू दैनिक सास्ती भोगिरहेका छन् भने सवारी चालकहरू दुर्घटनाको जोखिममा यात्रा गर्न बाध्य छन्।
हाइस चालक हरि साउदले गुनासो गर्दै भन्नुभयो, “हाम्रा साना गाडीहरूका इन्जिनको भाग हिलो र खाल्डामा ठोक्किन्छ, गाडी बिग्रिन्छ, खर्च बढेको छ। खाल्टो, हिलो र ट्राफिक जामले दुई घण्टासम्म ढिला हुन्छ।”
निर्माण कम्पनीले ग्रावेल नहालेपछि पानी जमेर सडक झनै हिलाम्मे बनेको सवारी चालक करन दियालले बताए। “बर्खामा यो सडक खण्ड पार गर्नु भनेको ज्यान र गाडी जोखिममा हाल्नु हो,” उनले भने।
यस्तै, सवारी चालक रमेश अवस्थीले भने, “सडक मर्मत भन्दै खनियो, ग्रावेल हालिएन। अहिले झनै हिलो छ। यात्रुहरूले अत्यन्तै कष्टकर यात्रा गर्नुपरेको छ।”
ठेक्का सम्झौता भए पनि काम सम्पन्न नभएपछि अवस्था जस्ताको त्यस्तै
सडक डिभिजन कार्यालय कुलपाते डोटीअन्तर्गत पर्ने यो सडक खण्डको मर्मत कार्य दुई पटक टेन्डर गरिएको थियो। तर निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा सडक अझै बेहाल छ।
सडक डिभिजन कार्यालयका प्रमुख रमेश भट्टराईका अनुसार अनुगमनपछि निर्माण कम्पनीलाई ग्रावेल हाल्न निर्देशन दिइएको हो। तर वर्षाका कारण ग्रावेलसमेत हिलोमा परिणत भएको छ।
उनका अनुसार चैत महिनादेखि लगातार वर्षा भइरहेकाले काम अवरुद्ध भएको हो। भिमदत्त राजमार्ग अन्तर्गतको यो सडक खण्ड डडेल्धुराको महाभारत पर्वत क्षेत्रमा पर्छ, जुन समुद्री सतहदेखि करिब २,००० मिटरको उचाइमा अवस्थित छ। यहाँ कात्तिकदेखि फागुनसम्म हिमपात हुने भएकाले कामका लागि चैत–असार उपयुक्त समय मानिन्छ। तर यस वर्ष चैतदेखि लगातार वर्षा हुँदा मर्मत कार्य अघि बढ्न सकेको छैन।











