कैलाली, — कैलालीको गौरीगंगा नगरपालिकामा नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) धर्मानन्द जोशीमाथि हातपात गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बिहीबार कार्यालय समयमा प्रशासकीय अधिकृत जोशीमाथि नगर प्रमुख कडेलका सहयोगी जोशीले हातपात गरेका हुन्। घटनापछि इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको टोलीले दिनभर प्रशासकीय अधिकृत जोशीको सुरक्षा गरेको छ।
हालसम्म जोशीले प्रहरीमा कुनै जाहेरी वा निवेदन दिएका छैनन्। नगरपालिकामा भएको घटनालाई लिएर प्रमुख कडेलसहितको टोलीले आन्तरिक छलफल गरिरहेको छ। घटनासँग जोडिएका एक सहभागीका अनुसार, ‘मेयर सापका स्वकीयले आज हाकिम सापलाई कुट्नु भयो। प्रहरी पनि आएको छ। उहाँहरूले छलफल गर्नुभएन तर हाकिम सापले माफी दिनुहुन्छ होला।’
नगर प्रमुख कडेल र प्रमुख प्रशासकीय अधिकृत जोशीबीच असार महिनाभरि संवाद बन्द रहेको बताइएको छ। तर, कुटपिटको कारण भने अझै खुलेको छैन। घटनापछि पनि प्रहरीको टोली अहिले नगरपालिकाको कार्यालय परिसरमै रहेको छ।











