डोटी/ बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का योजना, कार्यक्रम र आय–व्यय विवरण सार्वजनिक सुनुवाइमार्फत प्रस्तुत गरेको छ।
गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत वर्षभरि सञ्चालित गतिविधिको समीक्षा गरिएको हो। कार्यक्रमकाे प्रारम्भमा उपाध्यक्ष विष्णादेवी बमले स्वागत मन्तव्य दिँदै अति अशक्त नागरिकलाई लक्षित गरेर घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिइन्। उनले नागरिकले सहज रुपमा सेवा पाउन भनेर घरदैलोमै परिचयपत्र प्रदान गरिएको र कार्यालयमै आएर सेवा लिनेहरूलाई पनि प्रचलित प्रावधानअनुसार सेवा दिइएको उल्लेख गरिन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लेखा प्रमुख मीनबहादुर चन्दले प्रस्तुत गरेका थिए। उनले पालिकाको आम्दानी, खर्च र योजनाको कार्यान्वयनबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए।
गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले हालसम्म बोगटान फुड्सिल अझै विकट क्षेत्रमै रहेको बताउँदै पालिकाभित्र अझै पक्की सडक नपुगेको र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पनि पूर्ण रूपमा नपुगेको बताए। उनले गगुडा क्षेत्रमा आगामी वर्ष करिब ८ किलोमिटर सडक कालोपत्रे हुने र थप सडक विस्तारका लागि पहल भइरहेकाे जानकारी दिए।
“ठेकेदारले इमानदारीपूर्वक काम गरेमा एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार सम्भव हुनेछ,” उनले भने। अध्यक्ष गड्सिलाले सार्वजनिक सुनुवाइमा आएका प्रश्न, सुझाव र सल्लाहले आगामी वर्षका नीति तथा योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे











