बझाङ, असार ३२
बझाङको केदारस्युँ गाउँपालिका–४ स्थित बागथला बजारमा रहेको होनैनाथ गार्मेन्ट उद्योगमा मंगलबार राति भीषण आगलागी भएको छ। स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित उक्त उद्योगमा राति करिब १२:४५ बजे आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाका अनुसार, आगोले जस्तापाताले छाएको तीन कोठे कच्ची भवनमा सञ्चालित उद्योग पूर्णरूपमा जलेर नष्ट गरेको छ। आगलागीबाट ठूलो मेसिन ३ थान, साना मेसिन १६ थान, लत्ता–कपडा, धागो लगायतका सामग्री जलेर करिब १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटनाको खबर राति १:३० बजे प्राप्त भएपछि अस्थायी प्रहरी चौकी बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।
२०७२ सालदेखि सञ्चालनमा आएको सो उद्योग जिल्लामै नमुना गार्मेन्ट उद्योगका रूपमा विकास हुँदै आएको थियो। उद्योगमा ९ जना स्थायी कामदार कार्यरत थिए, जसमा ४ जना कर्मचारी र ५ जना सञ्चालककै परिवारका सदस्य थिए।
स्थलगत निरीक्षण
बुधबार बिहान गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा उपाध्यक्ष मनीषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी, शिक्षा शाखा प्रमुख हिम्मत भण्डारीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो।
निरीक्षणपछि अध्यक्ष बोहराले पीडितलाई तत्काल राहत दिन कार्यपालिका बैठक डाकिने बताए। साथै, नमुना उद्योग पुनः सञ्चालन गर्न सरोकारवाला निकायसँग सहकार्य गरिने आश्वासन पनि दिए।
“गाह्रोमा साथ दिने संस्कारलाई बलियो बनाऔं, समस्यामा सहयोग गर्नु सामूहिक जिम्मेवारी हो,” अध्यक्ष बोहराले भने।
गाउँपालिकाले विपद् व्यवस्थापनमा सबै सरोकारवालाको सहकार्यको अपिलसमेत गरेको छ।











