डोटी, – डोटी जिल्लामा स्वास्थ्य बीमाको पहुँच अझै सीमित देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार हालसम्म जिल्लाको जम्मा ११.६८ प्रतिशत जनसंख्याले मात्र स्वास्थ्य बीमा गरेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या २ लाख ४ हजार ८३१ रहेको छ। तीमध्ये २३ हजार ९१५ जनाले मात्रै स्वास्थ्य बीमामा सहभागी भएका छन्। मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार हालसम्म जिल्लाका ९ हजार २५५ घरपरिवारले स्वास्थ्य बीमा गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा २ हजार ३८१ जनाले नयाँ बीमा गरेका थिए भने चालु आव २०८१/८२ मा मात्र १ हजार ५०३ जनाले बीमा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय गिरावट हो।
डोटी जिल्लाभित्र सबैभन्दा बढी स्वास्थ्य बीमा दिपायल सिलगढी नगरपालिकामा भएको छ। यहाँ २ हजार ७८१ घरपरिवारका ८ हजार ७०१ जना बीमाको पहुँचमा छन्। त्यस्तै, सबैभन्दा कम बीमा बोगटान फुड्सिल गाउँपालिकामा रहेको छ, जहाँ ५९ घरपरिवारका २३८ जनाले मात्र बीमा गरेका छन्।
पालिकाहरूमा स्वास्थ्य बीमाको अवस्था कस्तो छ ?
शिखर नगरपालिका: १,७३३ घरपरिवार, ३,८२५ जना
बडिकेदार गाउँपालिका: ६६३ घरपरिवार, २,२३८ जना
केआई सिंह गाउँपालिका: ९०३ घरपरिवार, २,०३९ जना
पूर्वीचौकी गाउँपालिका: ९८७ घरपरिवार, १,८०८ जना
सायल गाउँपालिका: ६४८ घरपरिवार, १,७९४ जना
जोरायल गाउँपालिका: ६५९ घरपरिवार, १,६९८ जना
आदर्श गाउँपालिका: ८२२ घरपरिवार, १,५७४ जना
स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारले २०७२ सालदेखि सामाजिक सुरक्षा अन्तर्गत सुरु गरेको हो। सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा भने यो कार्यक्रम २०७६ सालदेखि लागू भई २०७७ सालदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।











