सिलगढी,
कृषि ज्ञान केन्द्र डोटीले चालु आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रमहरूको समिक्षा गर्न र आगामी योजनाबारे जानकारी दिन सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
डोटीस्थित कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख गङ्गादत्त अवस्थीले चालु वर्षको कुल बजेटमध्ये ७७.२३ प्रतिशत खर्च गरिएको जानकारी दिनुभयाे । यस वर्ष विभिन्न बाली तथा तरकारीको प्रवर्द्धन, आलु खेती विस्तार, च्याउ उत्पादन, कफी र फलफूल नर्सरी, कृषि पाठशाला सञ्चालन, गँड्यौला मल उत्पादन लगायतका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको उहाँकाे भनाइ छ ।
आउँदो वर्षका योजनामा प्रत्येक पालिकामा एक नमुना बगैँचा, व्यावसायिक उत्पादन क्षेत्रको पहिचान, बाली सघनता वृद्धि, आधुनिक सिँचाइ विधिको प्रयोग, ढुवानी अनुदान, फलफूल नर्सरी विस्तार, बगैँचा सुदृढीकरणजस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले कृषिमा स्थानीय सरकारको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख उहाँकाे उल्लेख छ । “कृषिमा भाषणभन्दा व्यवहारिक लगानी आवश्यक छ,” सिंहले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कृषि ज्ञान केन्द्रको कामको प्रशंसा गर्दै, कार्यक्रमहरूलाई दीगो र किसानमैत्री बनाउनेतर्फ सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
सञ्चारकर्मी र सहभागीहरूले उत्पादन भएका कृषि वस्तुहरूको बजारीकरणमा जोड दिनुपर्ने सुझाव दिएका छन्। बजार पहुँच, हाटबजार स्थायीत्व, र कोल्ड स्टोर जस्ता संरचनाको विकासमा पनि ध्यान दिनुपर्ने उनीहरूको धारणा थियो।











