कैलाली / सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर मात्रै आँखा खोल्दै असार महिनामात्रै ३० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। वर्षको अधिकांश समय योजनाको थलोमा निदाएको देखिने सरकार असारमा भने आकस्मिक रूपमा ‘जागेझैँ’ देखियो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले असारमामात्रै ९ अर्ब १० करोड रुपैयाँ खर्च गर्यो। चालु आर्थिक वर्षमा जम्मा २२ अर्ब २८ करोड रुपैयाँ (७०.५०%) बजेट खर्च भएको जानकारी लेखा नियन्त्रक वासुदेव जोशीले दिए।
उनका अनुसार कुल खर्चमध्ये पुँजीगत खर्च १२ अर्ब ४७ करोड (६६.५०%) र चालु खर्च ९ अर्ब ८० करोड (७६.८१%) रहेको छ।
प्रदेश सरकारले चालु वर्षमा कुल ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। गत जेठ मसान्तसम्म जम्मा १३ अर्ब १८ करोड रुपैयाँमात्र खर्च भएकोमा असार २५ गतेमात्रै एकैदिन २ अर्बभन्दा बढी रकम भुक्तानी गरिएको छ।
ढिलो पारित बजेट, लेखा समूहका कर्मचारीको आन्दोलन, र कागजी योजनाको लस्करबीच सरकारले असारमा मात्रै ‘रफ्तार’ लिएको भन्दै आलोचना भइरहेको छ। सरकार भने प्राविधिक कारणले खर्च ढिलो भएको तर्क दोहोराइरहेको छ।











