कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै मंगलबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुदूरपश्चिम प्रदेश ०१००१० प ८४०५ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा घोडाघोडी नगरपालिका–१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको हो।
गम्भीर घाइते भएका कठरियालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार, दुर्घटनामा घाइते हुनेमा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, र अर्को मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–४ का २५ वर्षीय चालक उदय भाट र पछाडि सवार गौरव भाट रहेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











