सिलगढी — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास कायम रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित देशका अन्य केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यीमध्ये केही स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातसमेतको सम्भावना रहेको जनाइएको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ।
विभागले सम्भावित बाढी, पहिरो तथा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन नागरिकहरूलाई आग्रह गरेको छ।











