बझाङ — बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
अटो चालक केदारस्यु गाउँपालिका–९ का २४ वर्षीय विकास गिरी छातीमा चोट लागी मध्यम घाइते भएका छन्। यस्तै, केदारस्यु–१ का २९ वर्षीय दिनेश भण्डारी, केदारस्यु–९ का ३६ वर्षीय दीपक धामी र दुर्गाथली गाउँपालिका–३ का ३८ वर्षीय शिवराज कठायतको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको र उनीहरूलाई तत्काल जिल्ला अस्पताल बझाङमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। हाल सबै घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार राति करिब ८:५० बजे चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ नम्बरको अटो अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।











