धनगढी – सुदूरपश्चिमको राजनीतिमा जति हलचल छ, देउवा परिवारको घरमा त्यति नै ‘हलचल’ भएको छ। पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, आफ्नी ‘ठूली आमा’ तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरबाट ‘बिदा’ भएका छन् — त्यो पनि राजनीतिक ‘गृहयुद्ध’पछि।
स्रोतहरू भन्छन् — यो कुनै हल्का मनमुटाव थिएन, आरजु रुष्ट भइन्, प्रकाश उठे र डेरा सार्न थाले। धनगढीस्थित आरजु राणाको घरमा चुनावदेखिकै डेरा जमाएका प्रकाशले मन्त्री हुँदा समेत सरकारी क्वाटर बेवास्ता गरेर ठूली आमाकै घरलाई ‘सरकारी निवास’ बनाएका थिए। तर अब त्यसै घरले उनलाई ‘अस्थायी विस्थापन’ बनायो।
सुनिन्छ, प्रकाश देउवाले कमलबहादुर शाहलाई मुख्यमन्त्रीबाट हटाएर आफैं सत्ताको बागडोर सम्हाल्ने प्रयास गरेका थिए। तर ठूली आमाले ‘नो भन्छु!’ भन्दै गेट नै बन्द गरिदिइन्। त्यसपछि सुरु भयो घरको राजनीति – “गृह मन्त्रालयको होइन, गृहको प्रशासनको”।
याे विषयमा प्रतिक्रिया लिन प्रकाशबहादुर देउवालाई टेलिफोन सम्पर्क गरिएपनि उनले अहिलेसम्म रेस्पोन्स गरेका छैनन् । देउवाका स्वकीय सचिव रमेश चन्दले समेत फोन उठाएका छैनन् ।











