✍️ डोटी, असार ६
डोटीको आदर्श गाउँपालिका–१ खिराधार धौलामाटीस्थित दिपायल–सायल भित्रि सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
शुक्रबार दिउँसो १ः४० बजे आदर्शबाट मेल्लेखतर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि जिल्लाकाे सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया हरु देवी बिक, आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय चालक सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको ज्यान गएको छ। काली कटुवालको मृत्यु उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका यात्रुहरूमा आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता बिक, त्यस्तै १६ वर्षीया स्यानु बिक, साेही ठाउँ आदर्श दडिमानाका २२ वर्षीय कैलाश बिष्ट, १४ वर्षीय दिपक बिष्ट, सायल गाउँपालिका–६ कटुवाल गाउँकी करिब ९/१० वर्षीया सविता कटुवाल पनि घाइते भएकी छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











