कैलाली, असार ४। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ७०९७ नम्बरको ट्याक्टरबाट खस्दा २५ वर्षीय उमेश चौधरीको ज्यान गएको हो। नेपाल प्रहरीले जानकारी दिएको अनुसार, हरिनगरबाट सुखडतर्फ आउँदै गर्दा चौधरी अचानक ट्याक्टरबाट खसेका थिए।
घाइते अवस्थामा रहेका चौधरीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ।











