धनगढी,
धनगढी उपमहानगरपालिका–३ स्थित उल्का गारमेन्ट उद्योगमा असार १ गते राति चोरी भएको छ।
उद्योग सञ्चालक सुरेन्द्र सिंह भण्डारीका अनुसार चोरीमा करिब ८ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको सामग्री हराएको छ। उनका अनुसार चोरहरूले रातिको समयमा ताल्चा फोडी उद्योगभित्र पसेर विभिन्न तयारी वस्त्र तथा इलेक्ट्रोनिक सामग्री चोरेका हुन्।
उनले दिएको जानकारीअनुसार २८० थान जिन्स पाइन्ट, ७० थान कटराइज पलाजु, ८ थान ट्रेक सुट, ८० थान पलाजु, ९० थान टिसर्ट, २० थान विनचिटर, साथै एक थान ल्यापटप र क्यामरा डिभाइस चोरी भएका छन्।
उद्योगले चोरीको सम्बन्धमा प्रहरीलाई लिखित उजुरी दिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। भण्डारीले सुरक्षाकर्मीलाई घटनाको जानकारी तत्कालै गराएको र आवश्यक कागजातहरू पनि बुझाइसकेको बताए।











