
कञ्चनपुर/कैलाली, — फरक–फरक मुद्दामा फरार रहेका दुई जना अभियुक्त कञ्चनपुर र कैलालीबाट प्रहरीले पक्राउ गरेका छन्। लागूऔषध र बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जरका २९ वर्षीय नरेन्द्र कार्कीलाई लागूऔषध मुद्दामा २ महिना २९ दिन कैद सजाय तोकिएको थियो। जिल्ला अदालत कञ्चनपुरको २०८१ भदौ २० गतेको फैसलापछि फरार रहेका उनलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको हो।
उता, कैलालीको धनगढी उपमहानगरपालिका–५ का गणेश चौधरी बैंकिङ कसुर मुद्दामा फरार थिए। जिल्ला अदालत कैलालीले २०८१ पुस १२ गतेको फैसलामार्फत उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो। उनलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले शनिबार कैलारी गाउँपालिका–१ स्थित हसुलिया बजारबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै अभियुक्तलाई अदालतको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।