
कैलाली, अत्तरिया — अत्तरिया बसपार्क क्षेत्रबाट चोरीमा संलग्न रहेको आरोपमा दाङका तीन जना व्यक्तिहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका–७ शारदानगरका कैलाश नेपाली (३२), अर्जुन बादी (४२) र कृष्ण बिक (४२) रहेका छन्। हाल तिनीहरू धनगढीको ज्ञानु प्लाजामा बस्दै आइरहेका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार उनीहरूको साथबाट सुनका दुई थान नौगेडी, सानो र ठूलो गरेर दुई थान तिलहरी, र एक थान गलोबन्दी समेत बरामद गरिएको छ। यी गरगहना विभिन्न मितिमा चोरी गरिएका थिए।
उनीहरूलाई बिहीबार राति डिएसपी चन्दकै कमाण्डमा खटिएको प्रहरी टोलीले अत्तरिया क्षेत्रबाट नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।