सिलगढी / डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका–४ को पतलीखेत खोलामा निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ।
२०७८ साल असोज २१ गते सकिनुपर्ने यो पुल झण्डै चार वर्ष ढिलो हुँदा स्थानीयहरूले “पुल बन्छ कि सपना बन्छ” भन्ने आशंका गरिरहेका थिए।
सहजपुर–बोगटान–दिपायल सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल निर्माणको ठेक्का नेपालगञ्जस्थित नेपाल मेघा सिस्ने जेभीलाई दिइएको थियो, जसले ३ करोड ६६ लाख ३० हजार रुपैयाँमा काम गर्ने सहमति गरेको थियो। सम्झौता २०७७ असार २१ गते भएको थियो, जसअनुसार पुल २०७८ असोजभित्र बन्नुपर्ने थियो। तर ‘काम कहिले सकिन्छ’ भन्ने प्रश्न चार वर्षसम्म अल्झिरह्यो।
इन्जिनियर श्याम चौधरीका अनुसार अब पुल यस आर्थिक वर्षको जेठ मसान्तसम्म सम्पन्न हुनेछ। “धेरै भो, अब त बन्छ होला” भन्ने स्थानीय आशावादी बनेका छन्।
बन्ने भो अर्को पुल पनि
यसै सडकखण्डको बोगटान फुड्सिल गाउँपालिका–७ मा पर्ने टुँणागाड खोलामा पनि पुल निर्माण हुने भएको छ। पूर्वाधार विकास कार्यालय, डडेल्धुराले टेन्डर प्रक्रिया पूरा भएको र सिद्धनाथ जय भगवती जेभीको बोलपत्र स्वीकृत भएको जानकारी दिएको छ।
प्राविधिक अधिकृत अन्जु कुँवरका अनुसार यो आर्थिक वर्षभित्र सम्झौता प्रक्रिया टुंग्याएर अर्को वर्षदेखि काम सुरु गरिनेछ। “तोकिएको समयमै बन्छ भन्ने अपेक्षा राखेका छौं”, उनले भनिन्।











