डोटी, जेठ २५ – डोटी जिल्लाको सायल गाउँपालिका–६ रोकायानारामा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।
आज दिउँसो ४:३० बजेकाे समयमा आक्रमणमा परी घाइते हुनेमा
स्थानीय ३० वर्षीया पशुपति कटुवाल, ५० वर्षीय खड्क रोकाया, ४५ वर्षीय कलु रोकाया, १३ वर्षीया सिर्जना रोकाया रहेका छन् । घाइतेलाई उपचारकाे लागि जिल्ला अस्पताल डाेटिमा पठाइएकाे डाेटी प्रहरीले जनाएको छ ।
त्यस्तै उक्त चितुवाकाे आक्रमणबाटै केही चौपाया मरेका छन्। स्थानीयवासीका अनुसार जंगलमा चौपाया चरिरहेका बेला चितुवा आक्रमण गर्दै बस्तीमा पसेपछि उक्त घटना भएको हो।
आक्रमणबाट स्थानीय कलावती रोकायाको एक गोरु र एक गाई घाइते भएका छन् भने प्रेम रोकायाको एक गोरु घाइते भएको र प्रेम कटुवालका दुई वटा बाख्रा हराएर बेपत्ता भएका छन्।
घटनापछि स्थानीयले चितुवालाई लाठी, ढुंगा र काठ प्रयोग गरी भगाउने प्रयास गर्दा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











