डोटी, जेठ २५
डोटीको दिपायलमा छोरा हराएको खबर दिन गएकी एक आमा प्रहरी कार्यालयमै बेहोस भएकी छन्।
दिपायल सिलगढी नगरपालिका–४, पिपल्ला बसपार्क पछाडि बस्ने ३८ वर्षीया कलावती खड्का आज साँझ करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय दिपायल पुगेकी थिइन्। उनले आफ्ना छोरा दिउँसोदेखि सम्पर्कविहीन रहेको र घर फर्किन नआएको जानकारी दिइरहेकै बेला अचानक बेहोस भएकी हुन्।
उनको अवस्था गम्भीर देखिएपछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले तत्काल उद्धार गर्दै उनलाई शैलेश्वरी अस्पताल दिपायल पुर्याएको थियो। अस्पतालमा हाल उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार हराएका बालकको खोजी कार्य सुरु गरिएको छ। बालक कुन अवस्थामा हराए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीका अनुसार कलावतीको अवस्था छोरा हराएको मानसिक तनावका कारण कमजोर देखिएको जनाएको छ ।











