कैलाली — कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवा स्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा १० महिनाका बालकको मृत्यु भएको छ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा शनिबार अनियन्त्रित भई पल्टिँदा अटोमा सवार चालकका नाति आयुष साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
अटो चालक सोही स्थानका ४१ वर्षीय भरत साउँद रहेका थिए। दुर्घटनामा घाइते भएका १० महिनाका आयुष साउँदलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। तर साँझ करिब ४:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही अटोमा सवार ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद पनि घाइते भएका छन्। उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











