बाजुरा, जेठ २३ – बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार दिउँसो करिब ४:५५ बजे होटलमा ग्यास सिलिन्डर पड्किएपछि आगो फैलिएको हो। आगलागीका कारण हालसम्म १६ देखि १७ वटा पसलहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
घटनापछि आगो नियन्त्रणमा लिन प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको ३२ जनाको टोली परिचालित भएको छ।
साथै स्थानीय बासिन्दा, नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगो नियन्त्रणको प्रयास तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले पनि आगो निभाउने कार्य जारी छ।
प्रहरी तथा स्थानीय प्रशासनले सम्भावित थप क्षति न्यूनीकरणका लागि सतर्कता अपनाएको छ भने घटना स्थलमा उद्धार र आगलागी नियन्त्रणको काम निरन्तर चलिरहेको छ।











