अछाम — अछामको मेल्लेख गाउँपालिका–२ डाँडाश्री पाटनमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बगुडाठाँटीबाट खटिएको प्रहरी टोलीले ६८ वर्षीय मनेबहादुर धामीको गोठमा लुकाइछिपाई राखिएको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने एक थान केप फेला पारेको हो।
त्यसैगरी, ४९ वर्षीय लालसिंह धामीको गोठमा प्रहरीले ३ फिट ६ इन्च लामो थार (जंगली जनावर) को छाला बरामद गरेको छ। दुबै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।











