सिलगढी, जेठ २२ गते
पछिल्लो समय यता देशमा केही हुँदैन भनेर नेपाली नागरिक विदेशिने क्रम जारी नै छ । जसकाे कारणले खेतीयोग्य जमिन बाँझा छन् । यस्ता थुप्रै कुरालाई चुनाैती दिन डाेटीकाे रूपसडाँडाले कृषिमा रूप नै फेरेको छ । उक्त डाँडाका कृषकहरू कृषि पेशाबाटै आफ्नाे जीवन फेर्ने सपना बुनिरहेका छन् ।
जोरायल गाउँपालिका–०२, रुपसकाँडा। पहाडका स-साना छरिएका घर, हरियाली बस्तीबीच फैलिएको छ एक फरक दृश्य—उही बारी, तर नयाँ ढंग तथा शैली । ३५ जना कृषक एकै ठाउँमा जुटेका छन्; कसैले मल बोकिरहेका छन्, कसैले प्लास्टिक बिछाइरहेका छन्। बुढापाकाको सल्लाह, युवाको जोश, र महिला कृषकको सहभागिताले रुपसकाँडाको खेतिले रूप फेर्न पुगेकाे छ । यो शक्ति हो सामूहिक वन्दा खेतीको। कृषिमा आधुनिकीकरण भित्र्याएर पनि हाेला रूपसडाँडा सेताम्य पनि देखिन्छ । जुन ५० राेपनी क्षेत्रफलमा फैलिएकाे छ ।
‘सिद्ध बावा कृषक समूह’को अगुवाइमा सुरु भएको यो प्रयास केवल बन्दा खेती मात्र होइन, सामुदायिक सोच, वैज्ञानिक दृष्टिकोण र व्यावसायिकताको संयोजन पनि हो। कृषि ज्ञान केन्द्र डोटीको प्राविधिक सहयोग र जोरायल गाउँपालिकाको समन्वयमा गरिएको यो खेती “वाली बस्तुमा लार्ज प्लेट डेमाेस्ट्रेशन” कार्यक्रम अन्तर्गत सञ्चालनमा आएको हो।
त्यसैमाथि भीमदत्त राजमार्गको बुडर नजिकै रहेको रुपसकाँडा भौगोलिक दृष्टिले मात्र होइन, बजार पहुँचका हिसाबले पनि आकर्षक छ। सडक किनारैमा फैलिएको जमिनले उत्पादनलाई सहजै बजार पुर्याउन मद्दत गर्छ। यहाँको उर्वर माटो र सिंचाइ मिल्ने सिँढे आकारका खेतहरू कृषिमा परिवर्तन ल्याउने भरपर्दो आधार बनेका छन्।
प्लास्टिक मल्चिङ: कृषिमा आधुनिकिकरण
परम्परागत तरिकाबाट अब्बल उत्पादन सम्भव छैन भन्ने बुझेका कृषकहरूले अहिले प्लास्टिक मल्चिङ प्रविधिको प्रयोग गर्दै छन्। प्लास्टिकले जमिन छोप्दा नमी जोगिन्छ, झार फट्किन्न, मल र पानीको उपयोग दक्षतापूर्वक हुन्छ। गाउँका अधिकांश कृषकले पहिलोपटक यस्तो प्रविधि अपनाइरहेका भए पनि उत्साह भने अनुभवीजस्तै देखिन्छ।
यस सामूहिक प्रयासले किसानहरूमा आत्मविश्वास र सहकार्यको नयाँ धार पैदा गराएको छ। एउटै बाली एउटै ठाउँमा लगाउँदा उत्पादनको स्तरमा समानता, लागतमा कटौती, रोगको सजिलो व्यवस्थापन र ज्ञानको आदानप्रदानले खेतीलाई सजिलो र फाइदाजनक बनाएको अनुभव उनीहरूले गरिरहेका छन्।
कृषक तुलसी बुढाथोकी भन्छिन्,“पहिले आ–आफ्नै खेतमा आ–आफ्नै तरिकाले काम गथ्यौँ, न मल पुग्थ्यो न सल्लाह। अब त सबै कुरा मिलेर गर्छौँ, सबैसँग सल्लाह हुन्छ, काम पनि सजिलो, मन पनि रमाइला भयो।”
कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी भन्छन्,” यो नवीनतम प्रविधिमा आधारित तरकारी खेति हो ।यसमा हाम्रो बाट प्लाष्टिक मल्चिङ र बीउ सहयोग हो, समाग्री हाम्रो बाट। किसानको तर्फबाट सिचाइ मलखाद लगायत व्यवस्थापन हाे , करिव ५० रोपनि क्षेत्रफलमा सामुहिक बन्दा खेति गरेका छन ।”
प्रमुख अवस्थी थप्छन् ,” हामिले ४० रोल प्लाष्टिक र ८० प्याकेट वन्दा दिएका छौ , १ लाख ८० हजार ज्ञान केन्द्रले सहयाेग गरेकाे छ बाँकी किसानकै हाे । फेरि वस्तारकाे लागि ४० हजार जति थपिनेछ । ” अवस्थीले बताए ।
त्यस्तै कृषिमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता र कृषकहरूका लागि यो परियोजना जीवित प्रयोगशाला जस्तै भएको छ। धनगढी–बुडर हुँदै डोटी पुग्ने जो–कोहीले यहाँको अभ्यास नजिकबाट हेर्न, बुझ्न र सिक्न सक्छन्। यो नमूना अन्य पहाडी गाउँहरूमा पनि प्रेरणाको स्रोत बन्ने सम्भावना प्रवल छ।
रुपसकाँडाको यो परिवर्तन केवल खेतको स्वरूप परिवर्तन होइन, सञ्चार, सोच, र समाजको रूपान्तरण हो। जहाँ कृषकहरूले सामूहिक सोचको बीउ रोपेका छन्, उर्बर जमिनमा होइन—आशाको माटोमा। त्यो माटोमा अब उत्पादन मात्र होइन, भविष्य फुल्न थालेको छ।











