डोटी, जेठ २१ – डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–७, उडीतोलामा आज बिहान ( बुधबार ) जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाकाे सायल गाउँपालिका ४ भल्मा बस्ने २५ वर्षीय पदमा बिष्ट, साेही ठाउँ वडा नं.३ कचाली बस्ने ६० वर्षीय हरु बयाडी २१ वर्षीय यदु बयाडि, जिल्लाकाे पुर्वीचौकी २ बस्ने क्रमशः ३५ वर्षीय गोबिन्द ओली, साेही ठाउँ बगलेक बस्ने ४० वर्षीय कुन्ति नेपाली, ४० वर्षीय हर्का देवी साउँद, ४० वर्षीय कलु साँउद,५० वर्षीय गोलमा देवी दमाई, ३० वर्षीय बजी दमाई रहेका छन् ।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको छ। घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डाेटी प्रहरीले जनाएको छ।
बगलेकबाट सिलगढीतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ च ०२४४ नम्बरको जीप अनियन्त्रित भई सडकको दाहिने पट्टि नालामा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहान करिब १०:२५ बजेको समयमा जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जीपका चालक डोटी सायल गाउँपालिका–४ का ५४ वर्षीय हरि बहादुर बिष्ट रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











