कैलाली — कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुर गाउँमा सुतीरहेका एक वृद्धको गोठमा आगलागी हुँदा जलेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मसुरियाका अनुसार ७२ वर्षीय कक्रु डङ्गौरा थारूको घटनास्थलमै ज्यान गएको हो।
गएराति करिब २ बजेतिर काठ र खरले निर्मित गोठमा एक्कासि आगलागी भएको थियो। आगो लागेको थाहा पाएपछि परिवारका सदस्यहरूले गोठमा बाँधिएका गाईगोरुहरूलाई जोगाउन सफल भए पनि गोठको माथिल्लो तलामा सुतेका वृद्ध थारूलाई भने बचाउन सकिएन।
इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज खेमराज पन्तका अनुसार आगलागीको कारण अझै खुलेको छैन। प्रारम्भिक अनुसन्धानमा गोठको वरिपरि कतै आगो बालेको वा मृतकले चुरोट पिएको प्रमाण भेटिएको छैन। गोठमा विद्युत् बल्ब बाल्ने व्यवस्था रहेकोले विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











