डोटी, बैशाख १२ – डोटी जिल्लामा सञ्चालन गरिएको बगैँचा सुदृढिकरण अभियान अन्तरगत ओखरमा गरिएको टप ओर्किङ प्रविधि अत्यन्त सफल भएको छ।
सायल गाउँपालिका, आदर्श गाउँपालिका, के.आई. सिंह गाउँपालिका, जोरायल गाउँपालिका र पूर्वी चौकी गाउँपालिकामा सञ्चालन गरिएको हाडे ओखरलाई दाते ओखरमा रुपान्तरण गर्ने यो प्रविधिले उल्लेखनीय सफलता हासिल गरेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताए ।
उक्त प्रविधिले हाडे ओखरको बोटमा उन्नत जातका ओखर गाभेर फलदायी बनाउने कार्यमा कृषकहरूले उल्लेखनीय लाभ पाउने आशा लिएका छन् । यस वर्षकाे उक्त ओखरमा गरिएकाे टप ओर्किङ अभियान सफल भएसँगै किसानहरूमा उत्साह थपिएको छ।
यस कार्यमा कृषि अनुसन्धान परिषद जुम्ला, सुख्खा फलफूल विकास केन्द्र वैतडी, पालिकाका कृषि शाखा प्रमुख/प्रतिनिधिहरू र कृषि ज्ञान केन्द्र डोटीका सम्पूर्ण कर्मचारीहरूको विशेष सहयोग रहेको प्रमुख अवस्थीले धन्यवाद व्यक्त गरेका छन्।
उनका अनुसार, आगामी आर्थिक वर्षमा यो अभियानलाई अझ थप सशक्त बनाउँदै बगैँचा सुदृढिकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
प्रमुख अवस्थीले थपे,” परीक्षणका गरे अनुसार डोटी जिल्लामा माघ २५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिमा ओखरमा टप ओर्किङ कार्य उपयुक्त देखिन्छ ।”











