काठमाडौ /नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिँदै उक्त निर्णय सार्वजनिक गरेका हुन्।
उनका अनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा डा. पौडेललाई तीन जना उम्मेदवारमध्येबाट गभर्नरमा नियुक्त गरिएको हो।
सिफारिस समितिले डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना, र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।











