सिलगढी— हाल देशमा पश्चिमी र स्थानीय वायूसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। साथै, मधेससहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीबतास पनि चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। केही पहाडी र तराई भागहरूमा चट्याङ र मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।











