सिलगढी / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको छ। यसका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने छ भने बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। यी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाले चट्याङ्गसहित वर्षा हुन सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











