कैलाली / कैलालीको कैलारी गाउँपालिका–५, मनिकापुरमा ट्याक्टर दुर्घटनामा घाइते भएका एक भारतीय बालकको मृत्यु भएको छ।
बेहडाबाबा मन्दिरको दर्शन गरी फर्किरहेका भारतीय श्रद्धालु चढेको नम्बर नखुलेको ट्याक्टर शनिबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा भारतको लखिमपुर खिरीका ११ वर्षीय आयुष बर्मा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
उक्त ट्याक्टरमा चालकसहित ४३ जना सवार थिए। दुर्घटनामा २४ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। तीमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १४ जना सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय, हसुलियाको नियन्त्रणमा रहेको छ। ट्याक्टर चालक भारतको लखिमपुर खिरी, सिंहा कालापोष्ट निवासी २५ वर्षीय चौलान्द्र बर्मा भने फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।











