सिलगढी / देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पर्ने सम्भावना छ।
रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा अन्य पहाडी भूभागका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ।
आज सूर्योदय बिहान ६:०४ बजे भएको छ भने सूर्यास्त साँझ ६:१७ बजे हुनेछ।











