बैतडी / बैतडीको सिगासमा विवाहको भोज खाएर फिर्ता हुँदै गरेका निम्तालु बाेकेकाे जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान ५ बजे समयमा सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप दुर्घटना परी मृत्यु हुनेमा जिल्लाकाे सिगास गाउँपालिका–१, १९ वर्षीय पार्वती धामी र १४ वर्षीय जयन्ती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साेही ठाउँ गडानबाट तल्लो इराना हुँदै फिर्ता हुँदै गरेको जिप माडौंमा दुर्घटना परी उनीहरूकाे ज्यान गएकाे हाे ।
त्यस्तै घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीय निरा धामी, १९ वर्षीय हेमन्ती धामी र १४ वर्षीय भागरथी धामी रहेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बैतडी प्रहरीकाे भनाइ छ ।
चालकसहित आठ जना सावर रहेकाे जिप सडकबाट ५ सय मिटर तल भिरमा खसेको छ । प्रारम्भिक अनुसन्धानबाट जिप सहचालकले चलाएको खुलेको छ । सहचालकसँग लाइसेन्स नभएको प्रहरीबाट खुल्न आएकाे छ । एक जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।











