मनमाेहन ठकुल्ला, डाेटी
” लाख रूप्या खर्च गरिबर केही वर्षपहिला लगाएकाे घर पहिराले भत्काइदियाे, आजभाेल अर्काका घर बास्तछु, गाेरूबाख्रा सबै राेडैना बाँधा पड्डाे, अर्खा ठाउँ घर साद्दाखी जग्गा आथीन्, सरसामान रे मान्छेलाई त केइन भयाे रे सबै लागि बर निकालिदियाे, आजभाेल बिचल्ली छ, घरबाठी है उठिबास भयाे हजुर!!”
याे हामीसँग पाेखेकाे गुनासाे डाेटी जिल्ला के. आई. सिह गाउँपालिका वडा १ बाउसेलाकी निर्मला नेपाली काे हाे । असाेज ११ गतेकाे अविरल वर्षासँगै घरमाथिबाट एक्कासि आएकाे पहिराेले उनकाे घर भत्काएकाे छ, परिवारकाे उठिबास लागेकाे छ । ३९ वर्षीय निर्मलाका २ छाेरा १ बुहारी भारतमा काम गर्दै आएका छन् भने उनकी सासु श्रिमान् मात्रै घरमा छन् । पहिराेले घर भत्काइसकेपछि अहिले उनकाे छिमेकीकाे घरमा बास छ ।
बिहान करिव ७ बजेतिरकाे समयमा घरमाथिबाट पहिराे खस्दा धन्न मानविय र धनमालकाे क्षति भएन्, निर्मलाले भनिन्,” घरका मुथि है ठूलै ढुंगाे आएर घरभित् पस्याे, घरकाे अगाडिकाे भाग दर्कियाे पछाडिकाे भाग सबै भत्कियाे ।”
लामाे समयदेखि माइतीघरमा स्थानीय बसाेबास गर्दै आएकी निर्मलाकाे आफ्नाे घर हाल साविक गाउँपालिकाकाे वडा नम्बर ३ बासुदेवी हाे । विगत केहि वर्ष पहिले निर्मालाकाे ससुराकाे मृत्युु पछि उनी आफ्नी सासू र सबै परिवार उठाएर माइतीघरमा स्थायीरूपमा बसाेबास गर्दै आएकी थिइन् । उता घरमा विविध दु:खका कारण माइतीघरकाे आश्रय लिएर उनी बस्दै आएकी थिइन् ।
निर्मलासँग अर्कै ठाउँ घर साराैँ जग्गाकाे एउटा चुर्काे पनि छैन् ।घरमा आयस्राेत हेर्दा केही नभएकाे उनले बताइन् । निर्मलाका २ छाेरा भारतमा छन् । जेठाे छाेरा २० र कान्छाे छाेरा १३ वर्षकाे बालबालै राेजगारी गर्न भारत लागेका उनले बताइन् ।
उनले भनिन् ,” जाइनु जहिराे ओइनाे पहिराे” भन्ना छन् त्यसै रैछ हजुर! भारत छाेराकाे अप्रेसन भयाे, त्यसै दिन घरैनु पैराे आयाे, परिवारकाे उठीबास लाग्याे।”
उनका श्रीमान घरमा सानाेतिनाे अर्काकाे काम गरेर खाने गुजारा गरिरहेकाे उनले बताइन् ।
सार्वजनिक स्थानमा यस विषयमा गाउँपालिका अध्यक्ष लाेकेन्द्र शाही भन्छन्,”आफूले याेजना बनाइरहेकाे र उक्त घटनाप्रति गाउँपालिकाकाे ध्यानाकर्षण भएकाे छ ।” साथै विपतकाे समयमा सबै दाताहरूले सहयाेग गर्नुपर्ने अध्यक्ष शाहीकाे भनाइ छ ।
साथै सम विकास केन्द्र इडिसी डाेटीले निर्मलालाई उपहार स्वरूप ४ वटा बाख्रा र रू ८ हजार नगद राहत स्वरूप उपलब्ध गराएकाे छ ।











