डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवक घाइते भएका छन्।
जानकी मिष्ठान्न भण्डार अगाडि शुक्रबार साँझ प्रेम राना, गणेश वादी र तेज रानाबीच विवाद भएपछि झैझगडा भएको प्रहरीले जनाएको छ। झगडाका क्रममा नजिकै रहेको कोक तथा फ्यान्टाका खाली बोतल राखिएका क्यारेट पल्टिएर बोतल फुट्दा १९ वर्षीय प्रेम रानाको गर्दनमा सिसाले काटेको हो।
घाइते रानालाई उपचारका लागि शैलेश्वरी अस्पताल पिपल्ला पुर्याइएको छ। उनको अवस्था सामान्य रहेको र गर्दनमा पाँच वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।











